सभामुख नेम्बाङलाई शुभकामना आइतवार, मे 14 2006 

प्रतिनिधिसभाको सभामुख पदमा इलामका सांसद सुवास नेम्वाङ निर्विरोध निर्वाचित हुनुभएको छ। नेम्वाङ सभामुखमा निर्वाचित भएर विश्वकै पहिलो निर्वाचित कम्युनिष्ट सभामुख लगायत एकैपटकमा धेरै रेकर्ड राख्‍न सफल हुनुभएको छ। उहाँ नेपालको जनजातिबाट प्रतिनिधित्व गर्ने पहिलो सभामुख बन्न पुग्नुभएको छ भने पूर्वाञ्चलबाटै पहिलो सभामुख बन्ने व्यक्तित्व पनि उहाँ नै हुन पुग्नुभएको छ। त्यसैगरी संसद समक्ष सपथ लिने पहिलो सभामुख पनि हुनुभएको छ।
संसद सभामुख पदका निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न लागि छुट्याइएको समयमा वहाँको मात्र निवेदन परेपछि वहाँ निर्विरोध निर्वाचित हुनुभएको छ। यस अघि संसदका मुख्यदलहरू नेकपा एमाले तथा नेपाली कांग्रेसको समर्थन नेम्बाङलाई नै भएपनि नेपाली कांग्रेस प्रजातान्त्रिकका तर्फबाट उपसभामुख चित्रलेखा यादवलाई सभामुख बनाइनुपर्ने अडान आएपछि सभामुख चयनमा ढीलाई भएको थियो।
सभामुखमा निर्विरोध निर्वाचित भएपछि नेकपा नेम्वाङले राजाबाट सपथ लिने परम्परा तोड्दै शनिबार अपराह्न संसदका सामु शपथ ग्रहण गर्नुभएको छ।
नव निर्वाचित सभामुखले संसदमा सपथ लिँदै भन्नुभयो “म सुवास नेम्वाङ जनआन्दोलनको भावनालाई आत्मसात गर्दै नेपाली जनताप्रति इमानदार भई मुलुकको सोझो गरी, कसैको डर नमानी र पक्षपात नगरी कार्य गर्नेछु”।
नेम्बाङ २०५६ सालको आम निर्वाचनमा नेकपा एमालेका तर्फबाट इलाम जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। तीन दशकदेखि कानून क्षेत्रमा काम गर्दै आउनुभएका नेम्वाङ प्रजातन्त्र स्थापना पश्चात् दुई पटक राष्ट्रिय सभा सदस्य हुनुभएको थियो। प्रतिनिधि सभामा सार्वजनिक लेखा समितिको सभापति भएका बेला वहाँले चाइना साउथ वेष्ट एयरलाइन्स भाडा प्रकरणमा भ्रष्टाचार भएको भनी एमाले सरकारकै मन्त्रीहरूको विरोध गर्नुभएपछि पार्टीमा समेत आलोचना खप्नु परेको थियो। वहाँले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रीको जिम्मेवारी समेत वहन गरिसक्नु भएको छ।
नेम्बाङ एमालेमा निकै प्रभावशाली केन्द्रीय सदस्यका रूपमा चिनिनुहुन्छ।
सभामुख नेम्वाङले प्रतिनिधि सभालाई अधिकार सम्पन्न बनाउने घोषणा पत्र तुरून्तै ल्याइने बताउनुभएको छ।
आफ्नो सांसद सभामुखको पदमा पुग्दा जिल्लाबासी खुशी छन् नै। तर निश्चय उनीहरूको वहाँप्रतिको अपेक्षा पनि अझ बढेको छ। आफ्नो क्षेत्रमा कम समय दिने गरेको गुनासो जिल्लाबासीहरूको रहेको छ।
देश संविधान सभाको चुनावमा जाने निश्चित प्राय भएको संक्रमणकालीन अवस्थामा सभामुख बनेपछि उहाँका काँधमा धेरै महत्त्वपूर्ण जिम्मेवारीहरु आइपरेका छन्। संभवतः एमालेले कानूनविद् भएकाले माओवादीलाई समेत मुलधारमा ल्याउन अन्तरिम शासन विधान समेत बनाउनुपर्ने सम्भावना भएकोले वहाँलाई नै सभामुख पदमा प्रस्ताव गरेको हो। यता नेम्वाङले प्रतिनिधिसभा घोषणापत्र ल्याउने वताएर संसदलाई दरिलो नेतृत्त्व दिने संकेत दिनुभएको छ।
चुलिएको जनचाहना बमोजिम जनतालाई तत्कालिन राहत दिन तथा दीगो शान्ति कायम गर्नमा संसद हाँक्नु कम गहन र महत्त्वपूर्ण काम होइन। आफ्नो बढ्दो जिम्मेवारी वहन गर्न जिल्लाबासीहरूसित नियमित सम्पर्कमा रहेर काम गर्नुभएमा वहाँलाई सहयोग पुग्नेछ। सभामुख पद सम्हालेपछि नेम्वाङ अवश्य पनि बढी ब्यस्त रहनुहुनेछ र जिल्लाबासीहरूका समस्या समाधान गर्ने काममा पर्याप्त समय दिन पनि नसक्नु होला तर जिल्लामा शुरू भएका र अलपत्र परेका केही विकास निर्माणका काममा वहाँहरूले चासो देखाउनै पर्छ।
पुनर्स्थापित संसदले वहाँको नेतृत्त्वमा कस्तो भूमिका देखाउने हो त्यो भने भविश्यले बताउने छ। जिल्लाबासीका तर्फबाट इलाम सूत्र परिवार नेम्वाङलाई सफलताको शुभकामना व्यक्त गर्दछ। SPS

बिहेको गाडी दुर्घटनाः जन्ती सहित तीनको मृत्यु बिहिवार, मे 11 2006 

 -इलामसूत्र समाचार-

वैशाख २७ गते- इलामका विभिन्न २ ठाउँमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ। (धेरै…)