जागे इलामका महिला मंगलवार, अप्रिल 18 2006 

-इलाम सूत्र समाचार-
इलाम/लोकतान्त्रिक जनआन्दोलनको १३ औं दिन आज बैशाख ५ गते मंगलबार इलाम सदरमुकामका सडक महिलाको जनप्रदर्शनले खचाखच भरिएको थियो । निरङ्कुश राजतन्त्रको बिरोधमा हजारौं महिलाले चर्का नाराबाजी गर्दै लोकतन्त्रको पक्षमा आयोजित जुलुस र सभामा सहभागी भई आफूलाई कट्टर लोकतन्त्रवादी भएको प्रमाणित गरेका छन् । सदरमुकामको रत्नचौकबाट शुरु भएको जुलुश इलाम नगरका विभिन्न भाग परिक्रमा गर्दै गणतन्त्र चौकमा आइपुगेर सभामा परिणत हुँदा महिलाले लोकतान्त्रिक गणतन्त्रका पक्षमा खुलेर नारा लगाए ।
घरमा गरिने सधैंका काम छोडेर आफ्नो अधिकार रक्षाका निम्ति लोकतन्त्र एक मात्र विकल्प भएको भन्दै सडकमा उत्रिएका महिलाले सभामा गीत, कविता, पनि बाचन गरे । विद्यालय, क्याम्पस पढ्नेदेखि घरका चुलाचौकामा व्यस्त हुने महिलासमेत आजको जुलुसमा सहभागी भए । सभामा पुरुष आन्दोलनकारीको पनि बाक्लो उपस्थिति थियो । इलाममा भएका जनप्रदर्शनमध्ये आजको उपस्थिति उल्लेख्य रहेको भन्दै आन्दोलनरत पक्षले आगामी दिनमा पनि महिलालाई सडकमा आउन आग्रह गरेका छन् ।

गैसस महासंघको अन्तर्क्रिया
जारी लोकतान्त्रिक आन्दोलनलाई निर्णायक मोडमा पुर्‍याउन आम हड्ताललाई अझ कडा बनाउनुपर्ने धारणा गैससकर्मीहरुले राखेका छन् । गैर सरकारी संस्था महासंघको आयोजनामा इलाममा आज मंगलबार आयोजित अन्तर्क्रियाका वक्ताहरुले जनआन्दोलनले गति लिइरहेको बेला हड्ताल खोल्नुपर्ने माग राख्ने तत्वले आन्दोलन निस्तेज पार्ने नियत लिएको बताएका थिए ।

सडक साक्षात्कार र हलगोरुसहित जुलुस
लोकतन्त्रको पक्षमा फिक्कलस्थित शान्ति र विकासका लागि सञ्चार मञ्चले आजै फिक्कल चोकमा सडक साक्षात्कार सम्पन्न गर्‍यो । मञ्चका कार्यवाहक अध्यक्ष तोयानाथ भट्टराईका अनुसार साक्षात्कारका वक्ताहरुले लोकतन्त्रका पक्षमा आन्दोलनका लागि सडकमा उत्रिन सम्पूर्ण पक्षलाई आग्रह गरेका थिए । फिक्कलबासीले आजै फिक्कल बजारमा हलगोरुसहितको किसान संलग्न रहेको जुलुस पनि प्रदर्शन गरेका थिए ।
इलामको उत्तरी पुवामझुवा गाविसमा पनि लोकतान्त्रिक जनआन्दोलनका पक्षमा राजसंस्था बिरुद्वका चर्का नारासहित दिनहु“ जुलुस, मसाल प्रदर्शन र कोणसभाहरु हुने गरेका छ ।

लोकतान्त्रिक क्षेत्र घोषणा
लोकतान्त्रिक आन्दोलनको पक्षमा बरबोटेको धारापानीमा पनि आजै बिहान प्रदर्शन गरिएको छ । नवप्रतिभा यूवा समूहको अगुवाईमा सम्पन्न जुलुस र कोण सभामा पाँचसय बढीको उपस्थिति रहेको स्थानीय केदार ढुङ्गानाले बताएका छन् । जुलुसले ठाउँ ठाउँमा निरङ्कुशताको पुतला दहन गरेको थियो । सोही सभामा धारापानी क्षेत्रलाई ‘लोकतान्त्रिक क्षेत्र’ घोषणा गरेको छ ।

घोडा सहित किसानको जुलुस
लोकतान्त्रिक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै घोडा व्यवसायीहरुले पनि आज इलाम बजारमा घोडासहित पर््रदर्शन गरेका छन् । दर्जनौं घोडा लिएर प्रदर्शनमा आएका बरबोटे र सुम्बेक गाविसका घोडा व्यवसायीहरुले बरबोटेको बिब्ल्याँटेदेखि इलामबजारसम्म प्रदर्शन गरेका थिए । लोकतन्त्रका पक्षमा राजतन्त्र बिरोधी नारा लगाउँदै सदरमुकाम आई पुगेको घोडा जुलुशलाई इलाममा प्रदर्शन गरिरहेका आन्दोलनकारीले ताली बजाएर स्वागत गरेका थिए । व्यवसायिक लोकतन्त्र स्थापनाका लागि सबै व्यावसायीले आ-आफ्नो साधन सहित सडकमा आउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

न्यायाधीशले चम्पट ठोकेपछि राजबन्दी छुटेनन् मंगलवार, अप्रिल 18 2006 

-इलाम सूत्र समाचार-
इलाम/आमहड्तालको दोस्रो दिन चैत्र २५ गते राजतन्त्र बिरोधी प्रदर्शनका क्रममा प्रहरीद्वारा गिरफ्तार गरिएका ६ जना राजबन्दी पुनरावेदन अदालतमा न्यायाधिश नभएका कारण छुट्न पाएका छैनन् । ती बन्दीलाई गैरकानुनी थुनामा राखिएको भनी नेपाल बार एशोसिएसनका तर्फाबाट चैत्र २७ गते बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरिएको थियो । २४ घण्टा भित्र सुनुवाई भइसक्नुपर्ने मुद्दा चार दिनपछिमात्र काठमाण्डौबाट आएका न्यायाधिशद्वय एकराज आचार्य र पुरुषोत्तम भण्डारीले हेरेका थिए ।
मुद्दा हेरेपछि न्यायाधिशद्वयको छुट्टाछुट्टै इजलासले जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका नाममा ४८ घण्टाभित्र कारणसहित बन्दी उपस्थित गराउन आदेश जारी भएको थियो । आदेश बमोजिम आइतबार अदालत पुर्‍याइएका राजबन्दीलाई अदालतमा न्यायाधिश नभएपछि पुनः प्रहरी कार्यालय फर्काइएको छ । मुद्दा हेर्न आएका न्यायाधीशहरु आदेश जारी गरेर काठमाण्डौतिरै चम्पट ठोकेपछि राजबन्दीहरु एमालेका धर्म उप्रेती र भक्त केसी, काँग्रेसका डोरप्रसाद उप्रेती र विद्यार्थीहरु तारा फागो, अञ्जानकुमार थेबे तथा बद्री खड्का हिरासत मुक्त हुन सकेका छैनन् ।
मुख्यसहित ६ न्यायाधिशको दरबन्दी रहेको बताइएपनि इलामस्थित पुनराबेदन अदालतमा बिगत तीन महिनायता कोही पनि न्यायाधीश बसेका छैनन् । बन्दी प्रत्यक्षीकरणका रिट दर्ता भएका बेला जागिर बचाउनका लागि मात्र न्यायाधीश आउने गरेपनि स्थायी रुपमा बस्नेगरी नआएपछि इलामबासी आक्रोशित बनेका छन् । बार एशोसिएसन इलामका खगराज कट्टेलका अनुसार जागिर बचाउन मात्रै आउने र निरङ्कुश शासकहरुको गोडा मोल्ने न्यायाधीशहरुकै कारण राजबन्दीलाई छुटाउन पहल गरिएपनि सम्भव हुन नसकिरहेको हो ।

माओवादीले टेलिफोन लुटे मंगलवार, अप्रिल 18 2006 

-इलाम सूत्र समाचार-
राँके/माओवादीले ‘फोनमा बोलेको कुरा सेनाको क्याम्पमा रेकर्ड हुन्छ’ भन्दै यहाँ सञ्चालित सात लाइन एसटीएम टेलिफोनका सामाग्री लुटेर लगेपछि राँकेबासी सञ्चार सुबिधाबाट बञ्चित भएका छन् । लोकतान्त्रिक जनआन्दोलन शुरु भएकै दिन गत चैत २४ गते आएका माओवादीले फोनका सामाग्री निकालेर लगेको स्थानीयबासीले बताएका छन् ।
फोन सञ्चालक गोपाल आचार्यले जनाएअनुसार दुईवटा डिस्कबाट सञ्चालित सात लाइन टेलिफोनका सोलार प्लेट, व्याट्री, कन्ट्रोलर लगायतका सामाग्री माओवादीले लुटेका हुन् । एक महिना अघिदेखि सञ्चालित ९९३२४००१७, १८, १९ र २० नम्बरहरु तथा केही अघिदेखि सञ्चालित ९९३२७०००१, ९९३२७००४९ र ५० नम्बरका एसटीएम फोनका सामाग्री माओवादीले लुटेका हुन् ।
महत्वपूर्ण सामाग्री लुटिएपछि त्यहाँका फोन अवरुद्ध भएकाले इलामका चमैता, फाकफोक, एकतप्पा तथा पाँचथरका चिलिङ्दिन, पौवा सारताप, इम्बुङ्ग लगायतका गाउँका हजारौं बासिन्दा सञ्चार सुबिधाबाट बञ्चित हुन पुगेका छन् ।

बृद्धबृद्धापनि सडकमा नारा लाउँदै सोमवार, अप्रिल 17 2006 

–इलाम सूत्र समाचार–
इलाम । बैशाखको टन्टलापुर घाममा पनि केहीदिनदेखि सोयाक १ की ७० वर्षीया टंकमाया आचार्य लोकतान्त्रिक आन्दोलनको व्यानर समाएर हिड्दै देखिन्छिन् । विद्यार्थीले झैं चर्का नारामा सही थप्ने टंकमाया पनि छोरानातीका लागि आन्दोलनमा सामेल भएको बताउँछिन् । उनी भन्छिन् –लोकतन्त्रका लागि बुढाबुढी पनि लाग्नु पर्छ अनि पो छोराछोरीलाई पनि जाँगर चल्छ त ।
सेत्तै फुलेका एक वृद्ध सदरमुकाममा हुने आन्दोलनका कार्यक्रममा २० वर्षो युवक झैं नारा लाउंदै नियमित सहभागी हुन्छन् । जमुना ९ इंगलाका देवीभक्त भट्टराईलाई लोकतन्त्रको नशा चढेपछि यसरी विरोधमा उत्रिएका हुन् । उनी भन्छन् –हामीले आन्दोलन गरे छोरा नातिले रक्तपात देख्नुपर्दैन । आन्दोलनलाई सफल बनाउन वृद्धवृद्धाको भूमिका कम नहुने उनको तर्क छ ।

पत्रकारको नांग्ले जुलुश सोमवार, अप्रिल 17 2006 

–इलाम सूत्र समाचार–
इलाम । राजधानीमा शनिबार पत्रकारमाथि सुरक्षाकर्मीले गरेको निमर्म कुटपिटको विरोधमा इलामका पत्रकारहरुले शनिबार नांग्लो जुलुस प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचारग्रामबाट पत्रकारहरुले प्रदर्शन गरी गौशालामा कोण सभा गरेका थिए ।
कोण सभामा महासंघका सभापति विष्णु निष्ठुरीले मन्तव्य दिदैँ गर्दा प्रहरीले हस्तक्षेप गरी पत्रकारहरुको टाउकोमा निर्मम कुटपिट गरेको थियो । साथै चार पत्रकारलाई गिरफ्तार गरेर केही घण्टापछि छाडेको थियो । हस्तक्षेपमा दजनौ पत्रकारहरु घाइते भएका थिए । नेपाल पत्रकार महासंघ इलाम शाखाको आयोजनामा जुलुस प्रदर्शन गरिएको थियो । प्रदर्शनमा पत्रकारहरुले नांग्लो ठटाएर र कुचोले राजा ज्ञानेन्द्रलाई नेपालबाट धपाउनका लागि सांकेतिक प्रदर्शन गरेका थिए । पत्रकारहरुको प्रदर्शनमा सात राजनीतिक दल, आठ विद्यार्थी संगठन, कानून व्यवसायीलगायतका नागरिक समाजका प्रतिनिधिहरुले एक्यबद्धता जनाएका थिए ।

काठमाण्डौमा इलामेली उत्रिए सोमवार, अप्रिल 17 2006 

–इलाम सूत्र समाचार–
काठमाण्डौ/काठमाण्डौमा रहेका इलामेलीहरुले लोकतन्त्रका पक्षमा आज काठमाण्डौमा बिशाल प्रदर्शन गरे ।
इलामेली समाजको अगुवाईमा आज बिहान अनामनगरबाट शुरु भएको निरङ्कुशता बिरोधी नारासहितको जुलुस घट्टेकुलोमा गएर सभामा परिणत भएको थियो । सभामा इलामेली समाजका अध्यक्ष राधेश्याम लेकाली, पत्रकार महासंघका सभापति विष्णु निष्ठूरीलगायतले निरङ्कुशताको अन्त्यका लागि सबै पक्ष सडकमा आउनुपर्ने बताउनुभयो ।
काठमाण्डौका इलामेलीहरुले इलाममा लोकतान्त्रिक आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारका लागि आजै दुई हजार चारसय ३८ रुपियाँ संकलन गरेका छन् ।

इलाममा जनआन्दोलन जारी सोमवार, अप्रिल 17 2006 

–इलाम सूत्र समाचार–
इलाम/लोकतान्त्रिक जनआन्दोलन प्रारम्भ भएको १२औं दिन सोमबार नेपाल बार एशोसिएसनको अगुवाईमा इलाममा बृहत प्रदर्शन भएको छ । रत्नचौकबाट शुरु भएको उक्त प्रदर्शनमा राजनीतिक दल, पेशाकर्मी, व्यापारी, विद्यार्थी, नागरिक समाजका प्रतिनिधिलगायत सयौंको सहभागिता थियो । पेशागत हकहितको ग्यारेण्टी हुनुपर्ने मागसहित निस्किएको जुलुस भानुपथ, मालापथ हुँदै चौकबजारमा आएर कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै कानुन व्यवसायी डा. नृसिंहकुमार खत्रीले तानाशाही राजतन्त्रको अन्त्य गरी मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अब ढिलो गर्नु नहुने बताउनुभयो । वहाँले पुरानो राजसंस्था नेपालीका लागि अब मान्य नभएको भन्दै सबै पेशाकर्मीलाई लोकतान्त्रिक आन्दोलनमा लाग्न आग्रह गर्नुभयो । सभालाई महिलाका तर्फबाट टीका घिमिरे र अधिवक्ता टीका भारद्वाज सातदलका तर्फबाट पुण्य शिवाकोटी, पत्रकार बारका दुर्गाबहादुर राईले लोकतन्त्रका पक्षमा विचार राख्नुभएको थियो । सभामा वक्ताले बोलिरहँदा लाँकुरी चौतारो परिसरमा भेला भएका लोकतन्त्रप्रेमी र्सबसाधारण ताली पिटीपिटी नाचगानमा रमाइरहेका थिए । कार्यक्रममा लोकतान्त्रिक गीत तथा कविताहरु पनि बाचन गरिएको थियो ।
सोमबार नै नेपाल प्राध्यापक संघ मरब क्याम्पस इकाइ समिति इलामले लोकतान्त्रिक आन्दोलनलाई थप सशक्त बनाउन इलाममा बृहत प्रदर्शन गर्‍यो । मरब क्याम्पसबाट शुरु भएको प्राध्यापकहरुको जुलुशले पूर्ण लोकतन्त्रको पक्षमा नारा लगाउँदै नगर परिक्रमा गरेको थियो । जुलुश रत्नचौकमा पुगी कोणसभामा परिणत भएको थियो । सभामा प्राध्यापक संघका सभापति देवेन्द्र गुरागाई र प्रध्यापक दिननाथ फूएलले सम्बोधन गर्नुभएको थियो । संघले आजै एक विज्ञप्ति जारी गरी लोकतान्त्रिक आन्दोलनको क्रममा बैशाख १ गते काठमाण्डौमा निस्केको प्राध्यापकको शान्तिपूर्ण जुलुशमाथि भएको प्रहरी हस्तक्षेपको कडा निन्दा गरेको छ ।
पश्चिमी जीतपुर गाविसमा पनि लोकतान्त्रिक आन्दोलनको समर्थनमा १ गतेदेखि दिनैपिच्छे प्रदर्शन भइरहेको समाचार छ । जीतपुर १ बासी विष्णु फूएलले दिएको जानकारी अनुसार सयौंको संख्यामा भेला भएर जुलुस र सभा गरिँदै आएको छ ।
पूर्वी फिक्कल बजारमा आइतबार साँझ मसाल जुलुश प्रदर्शन भएको छ । सात दलको आव्हानमा गरिएको उक्त मसाल जुलुसमा दुईसय बढी स्थानीयबासी, व्यापारी, मजदुर, शिक्षक, दलका प्रतिनिधिहरु, विद्यार्थी तथा महिलाहरुको उपस्थिति रहेको थियो ।
उत्तरी चमैता गाविसमा दिनैपिच्छे लोकतान्त्रिक जुलुस र सभा हुने गरेको छ । आइतबार स्थानीय महिलाहरुले डम्बरदेवी मावि परिसरमा भेला भएर आसपासका गाउँ परिक्रमा गरी कोण सभा गरेका थिए । सयौंको सहभागिता रहेको जुलुस सभामा परिणत भएपछि स्थानीय गंगा भट्टराई, गोपाल आचार्य, अनु शिवा, दिलु र्राई, दुर्गा राई, केन्द्र बस्नेत लगायतले लोकतन्त्रका पक्षमा विचार राखेका थिए । आज चमैतामा बालबालिकाको सक्रियतामा र्‍याली प्रदर्शन हुने भएको छ भने जनआन्दोलनका क्रममा घाइते भएकाको उपचारका लागि रकम संकलन गर्ने काम पनि भइरहेको छ । साथै, नजिकैको राँके बजारमा पनि दैनिक रुपमा लोकतान्त्रिक सभा र जुलुश भइरहेका छन् ।
सुलुबुङ्गमापनि आइतबार लोकतन्त्रका पक्षमा बिशाल जनसभा भयो । सभाले आन्दोलनलाई अझ सशक्त बनाउन हरिकुमार पराजुलीको संयोजकत्वमा १०१ सदस्यीय आन्दोलन समिति गठन गरेको छ । सभामा हरिकुमार पराजुली, दिनेश सुबेदी, हरिकृष्ण खतिवडा, सुनिता सुबेदी, हरि लुङ्गेली, निरोज खड्गी, चक्रबहादुर साउदेन, भूमी ढुङ्गाना, पुण्य शिवाकोटी, मणी सुब्बालगायतले निरङ्कुशताको अन्य र लोकतन्त्रको स्थापनार्थ जनता एकजुट हुन आग्रह गर्नुभयो । सभामा तीनहजार बढीको सहभागीता रहेको सुलुबुङ्गका दिनेश सुबेदीले बताए ।
लोकतन्त्रको माग राख्दै पाँचथर र इलामको सिमानामा पर्ने घुर्विसे पञ्चमीका बासिन्दाले पञ्चमी बजारमा आइतबार मसाल जुलुश गरेका छन् । स्थानीयबासी रमेश पोख्रेलले बताए अनुसार सात दलको आव्हानमा आयोजित उक्त कार्यक्रममा पाँच सयबढिको सहभागिता रहेको थियो । जुलुश शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।
यसैगरि साङ्गरुम्बामा पनि लोकतन्त्रका पक्षमा प्रदर्शन भएको समाचार छ । करिव पाँचसयको सहभागिता रहेको प्रदर्शन साङ्गरुम्बा ५ को विष्ट गाउँबाट शुरु भएर आहाले डाँडाँमा पुगि कोणसभामा परिणत भएको थियो । स्थानीय राम चौंलागाईले बताएअनुसार सभामा दिपकिसोर लिङ्दम, गणेश घिमिरे, अर्जुनकुमार थापा, महेन्द्र राई, प्रेमराज लिङ्दम, लक्ष्मण चौलागाइं र कुलबहादुर लामाले लोकतन्त्रका पक्षमा बोलेका थिए ।
आन्दोलनकै क्रममा उत्तरी माईपोखरी, देउराली, सुलुबुङ्ग लगायतका क्षेत्रमा दिनहुँ जुलुश, पुतला दहन, निरङ्कुशताका प्रतिक सुँगुर र बोकालाई अभिनन्दन गर्ने कार्यक्रम भइरहेका छन् ।

दुई माओवादी तारेखमा रिहा सोमवार, अप्रिल 17 2006 

–इलाम सूत्र समाचार–
इलाम/भारतको दार्जिलिङ्गमा पक्राउ परेका इलामका दुई माओवादी जिल्लास्तरीय कार्यकर्ता हालै जेलमुक्त भएका छन् । माओवादीको २९ औं बटालियन सी कम्पनी कमिसार उर्मिला तामाङ्ग र किराँत राष्ट्रिय मुक्ती मोर्चाका जिल्ला उपाध्यक्ष गर्जमान र्राईलाई दार्जिलिङ्ग जिल्ला अदालतले तारेखमा मुक्त गरेको हो । तामाङ्ग र राईलाई गत पुषको दोस्रो साता भारतीय प्रहरीले दार्जिलिङ्ग सुकिया पोखरी र मानेभञ्ज्याङ्गबाट पक्राउ गरेको थियो ।

आन्दोलनकारी मजदुरलाई चामल वितरण सोमवार, अप्रिल 17 2006 

–इलाम सूत्र समाचार–
इलाम/लोकतान्त्रिक आन्दोलनलाई समर्थन गर्ने ३० जना चिया मजदुरलाई इलाम बजार निबासी सुमन श्रेष्ठले आज बैशाख ३ गते चामल वितरण गरेका छन् । लोकतन्त्रका पक्षमा भइरहेको आन्दोलनलाई उर्जा थप्न र आमहड्तालका कारण चियाबगान बन्द भएपनि मजदुरलाई समस्या पर्न नदिन प्रतिव्यक्ति ५ किलोको दरले चामल वितरण गरिएको श्रेष्ठले बताए ।
इलाम नगरपालिका ८ का पूर्व वर्डाध्यक्ष विष्णु सुवेदीले जनआन्दोलनमा सहभागि हुने आफ्नो घरमा डेरा गरि बसेका विद्यार्थीहरुलाई एक महिनाको भाडा नलिने भएका छन् । आन्दोलनलाई अझ सशक्त बनाउन उक्त निर्णय गरेको सुवेदीले जनाएका छन् । त्यसैगरी इलाम नगरपालिका भानुपथका ६ जना घरधनीले आफ्नो घरमा भाडा लिई बसेका पसलवालाहरुलाई आम हड्तालभरी भाडा नलिने घोषणा गरेका छन् । लोकतान्त्रिक जनआन्दोलनका लागि सक्रिय रहेका व्यापारीलाई राहत दिने उद्धेश्यले भानुपथका महेश बस्नेत, हिमालराज दाहाल, युवराज लिम्बु, विष्णु केसी, धनबहादुर गुरुंग र रत्न कोइरालाले आफ्नो घरमा बसेका व्यापारीहरुलाई घरभाडा मिनाहाको घोषणा गरेका हुन् ।
यता जन आन्दोलनका क्रममा घाइते हुनेहरुको उपचारका लागि इलाम जिविसका कर्मचारीहरुले १४ हजार नगद सहयोग गर्ने भएका छन् । बैशाख ४ गते जिविसका कर्मचारी र गाविस सचिवहरुको भेलामा उपस्थित ९७ कर्मचारीहरुले प्रतिब्यक्ति १ सय देखि १ सय ५० सम्म संकलन गरि १३ हजार ९ सय २० रुपैंयाँ जम्मा गरेको जनाइएको छ । त्यस्तै लोकतान्त्रिक जनआन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारीको उपचारका लागि इलाम नगरपालिका कार्यालयका ५९ कर्मचारीले १० हजार एक रुपियाँ संकलन गरी राजधानी पठाउने भएका छन् । नगरपालिका कर्मचारी एशोसिएसनसँग आबद्ध उनीहरुले उक्त रकम केन्द्रीय जनआन्दोलन समितिलाई पठाउने निर्णय गरेको नगरपालिकाका कर्मचारी महेश काफ्लेले बताए । जिल्लास्तरमा समेत आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारीका लागि शनिबार भानुपथ र फूलगाछी क्षेत्रबाट रकम संकलन भएको थियो ।

सेनाको घेरा प्रदर्शनकारीले तोडे सोमवार, अप्रिल 17 2006 

इलाम सूत्र समाचार

फिक्कल/निरङ्कुशताको बिरोधमा चर्किरहेको लोकतान्त्रिक आन्दोलनका क्रममा पूर्वी पञ्चकन्या गाविसका बासिन्दाले आइतबार आइत’boutस्थित सेनाको अवरोध तोड्दै प्रदर्शन गरे ।

तीनघरेबाट फिक्कलतर्फअघि बढेका ४ सयबढी आन्दोलनकारीलाई त्यहाँको सेनाले 'के हो लोकतन्त्र', 'अगाडि बढे गोली हान्छौं' भनी रोक्ने प्रयास गरेपनि प्रदर्शनकारीले नाराबाजी गर्दै अगाडि बढेपछि सेनाले रोक्न सकेको थिएन । आइत’boutबाट अगाडि बढेको जुलुस कन्याममा भएको चिया मजदुरहरुको लोकतान्त्रिक जनसभामा पुगेर सहभागी भएको थियो ।

बैशाख ४ गते इलामेलीहरूको बृहत प्रदर्शन आइतवार, अप्रिल 16 2006 

-इलामसूत्र समाचार-
प्रतिगमनको विरोध गर्दै लोकतन्त्रका पक्षमा बैशाख ४ गते इलामेलीहरूले राजधानीमा बृहत प्रदर्शन गर्ने भएका छन्। बैशाख ३ गते अनामनगरमा बसेको इलामेली समाजको बैठकले सो निर्णय गरेको हो। प्रदर्शन विहान ७:३० बजे अनामनगर हनुमानस्थानबाट शुरू हुने जनाइएको छ। उक्त बृहत प्रदर्शनमा सहभागी हुन विहान ७:३० बजे भित्र निर्धारित स्थानमा भेला भैदिनुहुन समस्त लोकतन्त्रप्रेमी जनसमुदायलाई इलामेली समाजले अनुरोध गरेको छ।

जनआन्दोलन दिवसमा भएको प्रदर्शनमा धरपकड दर्जन घाइते आइतवार, अप्रिल 9 2006 

इलाम सूत्र समाचार-इलाम/जनअनान्दोलन दिवसको अवसरमा लोकतन्त्रका लागी आन्दोलनरत सात दल र आठ विद्यार्थीहरुको आयोजनामा आज चैत्र २६ मा पनि इलाममा प्रदर्शन भयो । प्रदर्शनमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ, नेपाल बार एशोसिएसन, पत्रकार महासंघ, नेपाल प्राध्यापक संघ, सामुदायिक वन उपभोक्ता महासंघ, मानव अधिकार संरक्षण मञ्च, मानव अधिकार संगठन, मानव अधिकार तथा शान्ति समाज, नागरिक समाज, नागरिक अनुगमन समिति लगायतका संघसंस्थाहरुको समेत सक्रिय सहभागिता थियो । प्रहरीको धरपकडलाई अवज्ञा गर्दै जुलुशले नगर परिक्रमा गरेको थियो ।

११ बजे इलामको टुँडिखेल छेउबाट शुरु भएको जुलुशलाई इलाम चौक बजारमा पुगेपछि प्रहरीले हस्तक्षेप गर्दै धरपकड गरेको थियो । धरपकड गर्ने क्रममा दुई विद्यार्थी र चार प्रहरी घाइते भएका छन् । घाइते विद्यार्थीहरुमा निर्मल उप्रेती र छवि निरौला छन् भने प्रहरी हवल्दारहरु इश्वर कार्की र बमबहादुर थापा तथा जवानहरु मनोज शर्मा, रविन्द्र ठकुरी र अर्जुन गिरी घाइते भएका छन् । घाइतेमध्ये उप्रेतीको इलाम अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते सामान्य उपचार पछि फर्किएका छन् ।

प्रहरीले धरपकड सँगै लाठी चार्ज समेत गरेको थियो । यहाँका अग्रज पत्रकार धर्म गौतम र पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य धिरेन चेम्जोङ्गलाई समेत प्रहरीले लाठी प्रहार गरेको थियो भने दर्जनबढी विद्यार्थी र दलका कार्यकर्तालाई लाठी प्रहार गरिएको थियो । प्रदर्शन सँगसँगै विद्यार्थीहरुले निरङ्कुशताको पुतला दहन गरेका थिए ।

यसैबीच चैत्र २४ गते गिरफ्तार गरिएका जिल्ला प्रहरीको कवर्ड हलमा राखिएका ६ बन्दीहरुले शनिबार जनआन्दोलन दिवस मनाए । उनीहरुले नारा लगाए र एक एक गर्दै भाषण गरे । गिरफ्तार गरी नछाडिएकामा नेकपा एमालेका जिल्ला उपसचिव धर्म उप्रेती नेपाली काँग्रेस इलाम नगर सभापति डोरप्रसाद उप्रेती एमालेका भक्त केसी महेन्द्र रत्न बहुमुखी क्याम्पस स्ववियू सभापति अन्जान कुमार थेवे नेविसंघ इलाम जिल्ला सभापति तारा फागो र अनेरास्ववियूका केन्द्रीय प्रतिनिधि बद्री खड्का छन् ।

उपचार गर्न भारततिर आइतवार, अप्रिल 9 2006 

–ठाकुर नेपाल/इलाम सूत्र समाचार–दार्जिलिङ्ग, भारत/दार्जिलिङ्गसँग सिमाना जोडिएका नेपालका पूर्वी सिमावर्ती क्षेत्रका जनताहरुका निम्ती भरपर्दो स्वास्थ्य उपचार गर्ने उपचार केन्द्रहरु नहुँदा त्यहाँका बासिन्दाहरु उपचारको लागि भारतको दार्जिलिङ्गमा महङ्गो औषधी उपचारको लागि आउन बाध्य भएका छन् ।

पूर्वी नेपालका सिमावर्ती गाविस पशुपतिनगर, श्रीअन्तु, गोर्खे, समालबुङ्ग, जिर्मलेका मात्र हैन अहिले मेची अञ्चलकै अधिकांश भागका बासिन्दाको उपचार केन्द्र बनेको छ भारतको दार्जिलिङ्ग र सिलगुडी ।

भरपर्दो उपचारको व्यवस्था नहुँदा स्थानीयबासी सामान्य उपचारको लागि समेत दार्जिलिङ्गका महङ्गा क्लिनिक, नरसिङ होम साथै सरकारी स्तरको यहाँको सदर अस्पतालमा नै आउनुपर्ने बाध्यता भएको हो । उपयुक्त अस्पतालमा नेपाली बिरामीहरुको चाप बर्षेनी बढ्ने गरेको सदर अस्पतालका चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार नेपाली बिरामीहरुमा सबैभन्दा बढि प्रसुती बेथा लागेका, मुटु सम्वन्धी रोगीहरु साथै रुघा-खोकी, ज्वारोका बिरामीहरु आउने गरेका छन् ।

एकसय जना भन्दा बढी चिकित्सक, सहायक चिकित्सक र नर्सहरु रहेको उक्त अस्पतालमा अत्याधुनिक सुविधायुक्त प्रविधिद्वारा उपचार गराउने र त्यसका अलवा शुल्क पनि महङ्गो लिनु परेको सहायक चिकित्सक सुमन प्रधान बताउँछन् । उक्त अस्पतालमा नेपालबाट दैनिक ५ देखि १० जना सम्म बिरामीहरु आउने गरेका छन् । जसमा सिमावत्ती गाविसका बिरामीहरु बढी आउने गरेको अस्पताल दर्ता फाँटका अशोक लिम्बू बताउछन् । करिब पाँच करोड भारतीय रुपैयाँमा नव निर्मित उक्त सदर अस्पतालको भवनमा बिरामीहरुका निम्ति सुविधायुक्त वेड लगायत आवश्यक सामग्रीहरु उपलब्ध छन् ।

'यहाँ महङ्गो भएपनि उपचार राम्रो रछिटो हुन्छ ।' सरदर अस्पतालमा प्रसुति व्यथा लागेर आफ्नी श्रीमतीलाई भर्ना गरेका पाँचथरका दिल बहादुर लिम्बूले आफू उपचारका लागि दार्जिलिङ्ग आउनुको कारण खुलाए- 'यहाँ हावापानी पनि राम्रो छ ।'

दार्जिलिङ्गका अन्य नर्सिङ्गहोम, क्लिनिकहरुमा पनि नेपाली बिरामीहरुको चाप त्यतिनै पाइने गरेको छ ।

नेपालका स्वास्थ्य केन्द्रहरुमा प्रायशः दरबन्दी अनुसारका चिकित्सकहरु नहुनु र उचित स्वास्थ्य उपचार दिन नसक्नुले बिरामीहरु भारतिय जानु परेको हो । बिज्ञहरु भन्दछन्- 'नेपालका अन्य जिल्लाका अस्पतालतिर जानुभन्दा भारतीय अस्पताल नजिक भएकाले पनि बिरामीको चाप भारतका अस्पतालमा बढी भएको हो ।'

हराउँदैछन् लोकसंस्कर्तिहरु शनिवार, अप्रिल 8 2006 

–इलाम सूत्र समाचार– 

फिक्कल/इलामका जातीय संस्कार र भेषभुषा चार्ड पर्वमा मात्र सिमित हुदै लोप हुने अवस्थामा पुगेका छन् ।

विभिन्न जातजातिहरुको बसोबास रहेको पूर्वी इलाममा आफ्नै जातीय नाँचहरु रहेको पाइएता पनि हाल लोप हुने अवस्थामा रहेका छन ।

चार्डपर्व, विवाह तथा मेलापर्वमा एक आपसमा हात समाएर जताततै नाचिने लिम्बूजातिको धाननाच र "च्याब्रुङ" बजाएर नाचिने च्याब्रुङ नाच हेर्न त कुनै आयोजित समारोह नै कुर्न पर्ने हुन्छ ।

यस्तै नेपालबाटै लोप भएर जान लागेका लाप्चाहरु, "च्याकबर्ज्याङ" बजाउँदै लाम लागेर रमाइलोसँग नाचिने नाच, लाप्चाजातिसँगै लोप भएर गई सकेको श्रीअन्तु गाविसका जगतबहादुर लाप्चा बताउनु हुन्छ भने विशेषतः विवाहको अवसरमा बेहुलाले बेहुलीको घर लिन जाँदा नौमति बाजा बजाएर नाँचिने दमाई जातिको नाच नौमति बाजासँगै हराएर गइसकेको छ ।

यस्तै पूजाआजा र मेला पर्वमा झ्याम्टा बजाई लिङ्गोको वरिपरी घुमीघुमी नाचिने र्राईहरुको चण्डीनाँच यदाकदा देख्न पाइन्छ भने ब्राम्हन जातिका परिवारमा विशेष गरी विवाहमा हुने रत्यौली र संगिनी नाँच अहिले लोप भइसकेको छ ।

यी बाहेक बिभिन्न अन्य मौलिक संस्कृतिहरु दिनप्रतिदिन लोप हुनु थालेका छन् र इलाममा हुने विशेष उत्सव, पर्व र मेलाहरुमा नाचिने बालननाच, मारुनीनाच, डम्फूसेलो जस्ता नाचहरु आजभोलि देख्न छाडी सकेको फिक्कल निवासी नरनारायण प्रधान बताउनु हुन्छ भने यस्ता लोप हुन थालेका मौलिक संस्कृतिलाई जोगाई राख्न आ-आफै लाग्नु पर्ने वहाँले बताउनु भयो ।

आ-आफ्ना संस्कार र भेषभुषा अहिले पर्वहरुमा मात्र आकलझुकल देखिनुले यसको अस्तित्व नै हराएर जाने भएकाले संरक्षण गर्नुपर्ने स्थानीय बुढापाकाहरु बताउँछन् ।

माओवादीद्वारा र्सबसाधारणको हत्या, गाउँलेले माओवादी बिरुद्ध प्रदर्शन गरे शनिवार, अप्रिल 8 2006 

-इलाम सूत्र समाचार-

माओवादीको एक सशस्त्र समूहले चैत्र २४ गते दिउसो पश्चिमी इलामको जीतपुर गाविसका एक र्सबसाधारणलाई हत्या गरेको छ । जीतपुर-१ का २४ वर्षीय तिलक मगरलाई बाटोमा माओवादी चढेको ट्रयाक्टर रोकेको निहुँमा कुटपीटपश्चात गोली हानी हत्या गरिएको स्थानीयबासी प्रत्यक्षदर्शीले बताएका छन् ।

जीतपुरस्थित मानव अधिकार मध्यस्थता समितिका संयोजक सूर्य न्यौपानेका अनुसार मगर रामनवमीमा मेला लाग्ने स्थानीय नवमी बजार पुगेर फर्किरहेका थिए । ट्रयाक्टर आएको देखेपछि उनले घरजानका लागि रोक्न खोजेका थिए । तर गाडि रोकेर सशस्त्र माओवादी ओर्लिएर उनलाई कुटपीट गर्न थाले । मगरलाई घटनास्थलमै गोली हानी हत्या गरिएको थियो ।

मगरको हत्यापछि जीतपुरका स्थानीयबासीहरुले माओवादी बिरुद्ध चर्का नारा र हत्यारालाई कारबाही गर्न माग गर्दै गाउँमै प्रदर्शन गरे । २४ गते नै शुरु भएको प्रदर्शन २५ गते पनि जारी भएपछि माओवादीले हत्यारा पत्ता लगाई कारबाही गर्ने आश्वासन दिएको थियो । त्यसपछि मात्र स्थानीयबासीले मगरको लाश पोष्टमार्टमका लागि इलाम सदरमुकाम ल्याएका थिए । लाश २५ गते राती १२ बजे मात्र सदरमुकाम ल्याइपुर्‍याइएको छ ।

माओवादी जीतपुर इञ्चार्ज विजयले गल्तीबस मगरको हत्या भएको बताएका छन् । उनले हत्यारालाई कारबाही गर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउने पनि बताएका छन् ।

अर्को पृष्ठ »