-गणेश पौडेल
नेपालको शाहबंशीय शासन सत्ता २ सय ३८ बर्ष पछि जनमत द्वारा खोसिएको छ। सधैंजसो पारिवारिक कचिंगल र षड्यन्त्रमा जेलिएको यो राजतन्त्र अब नेपालको इतिहासमा सुरक्षित बन्न पुगेको छ। २ सय बर्ष अघिको राज्य विस्तारलाई ‘पुर्खाको पौरख’ बखान गर्दै आफूलाई राष्ट्रिय एकताको प्रतीक ठान्ने शाही राजतन्त्र जनताबाट पराजित भएपछि समाप्त भएको हो।
पृथ्वी नारायण शाहको ठूलो राज्यको सम्राट बन्ने महत्वाकांक्षाले विभाजित राज्यहरूलाई समेट्ने काम बाहेक शाह राज खानदानले नेपाललाई उल्लेखनीय कुनै योगदान गरेको देखिँदैन।
राजाबाट पदच्यूत गरेपछि संविधानसभाले गत जेठ १५ गते दिएको १५ दिनको म्याद तामेल गर्दै पूर्वराजा ज्ञानेन्द्र उनलाई सरकारले सिमीत समयका लागि दिएको नागार्जुन जंगलको एउटा घरमा डेरा सरे।
शाह राजवंशको विनाशका लागि राजा ज्ञानेन्द्रको भाग्य भन्दा कर्म नै बढी जिम्मेवार ठहर्छ। दाजूको वंश विनास पछि ‘संयोग’ ले राजा भएका ज्ञानेन्द्रले आफ्नै कुकर्मका कारण राजाको कुर्सी थाम्न नसकेको कुरा धेरैले बुझेका छन्।
महत्वाकांक्षा बन्यो अवसानको कारण
प्रसिद्ध अंग्रेजी नाटक म्याकबेथमा म्याकवेथको अवसान र नेपालको राजशाहीको अन्त्य उस्तै गरि भएको छ। दुवै पात्रले निम्त्याएको परिणामका लागि उनीहरूको महत्त्वाकांक्षा नै मुख्य कारणको रूपमा देखिन्छ। म्याकवेथ एउटा साधारण सिपाही बाट सेनापति भएपछि महत्त्वाकांक्षाकै कारण राजा डंकन को हत्या गरेर राजा भएका थिए। राजा ज्ञानेन्द्र भने जन्मजात ‘शाही सेनाको’ अतिरथि थिए। राजा बीरेन्द्रको हत्या उनैले गरेको हो भन्ने धेरैको अनुमान छ। यद्यपि यसको कसैले औपचारिक पुष्टि गरेको छैन।
राजा बनेको एकै बर्षमा ज्ञानेन्द्रले जननिर्वाचित संसद र मन्त्रीमण्डल क्रमश विघटन गरे। पहिले प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरे भने त्यसको ४ महिना नबित्दै तिनै प्रधानमन्त्रीलाई असक्षमको पगरी लगाएर घोक्र्याइदिए। २०५९ असोजमा सत्ता हत्याउँदा बाबुको पदचिह्न अनुसरण गर्दै उनले दोषजति दलहरूमाथि थोपरेका थिए। त्यसपछि दल हरूबाटै कठपुतली प्रधानमन्त्री बनाउँदै २ बर्ष बिताएका थिए। राजा महेन्द्रले पनि २०१७ सालमा राजनैतिक दलहरूबीचको विवाद र दलगत स्वार्थका कारण देश बर्बाद गर्न खोजेको भन्दै सत्ता हातमा लिएका थिए।
०४८ देखि ०५८ सम्म दलहरूबीच देखिएको सत्ता लिप्सा र घीनलाग्दो राजनीतिक खेल बाट दिक्क मान्न थालेका जनताले आफूलाई साथ दिएको ठानेर एक पछि अर्को कदम उठाउँदै गएका ज्ञानेन्द्रको महत्त्वाकांक्षा चुलिंदै गैरहेको थियो। दलहरूलाई कमजोर बनाइसकें भन्ठान्दै ०६१ माघमा उनले राज्यको साँचो नै हातमा लिएर अघोषित जंगी शासन लागू गरे। जनतालाई ‘भ्रष्टाचार नियन्त्रण गर्ने’ छारो हाल्न पञ्चायतमा सकृय हरूलाई उठाएर ‘शाही आयोग’ निर्माण गरी राजनीतिक प्रतिशोध साँध्ने काम गरे।
गलत आँकलन र खराब सल्लाह
सामन्तकालीन परिवेशको दरवारमा हुर्केका ज्ञानेन्द्रले नेपाली जनताको बौद्धिक स्तर कहिले पनि बुझ्न नसकेको देखिन्छ। माघ १९ पछि महिनौंसम्म दलहरूले गरेको आन्दोलनले नयाँ फूल फुलाउन नसकेको बुझेका राजाले स्थानीय निर्वाचनको सम्म नाटक गर्ने प्रयत्न गरे। आफ्नो वरीपरि घुमिरहने अरौटे भरौटेहरूले चाकडी गरेकै भरमा सबै नेपालीले आफूलाई समर्थन गर्छन् भन्ने उनको सोच थियो। जनताले नै बहिस्कार गरेको चुनाव बाट पनि उनले पाठ सिक्न सकेनन्।
म्याकवेथसँग ज्ञानेन्द्रको अर्को पनि संयोग मिल्छ त्यो हो गलत व्यक्तिहरूको साथ। म्याकवेथको महत्त्वाकांक्षा ३ जना बोक्सीहरूको गलत भविष्यबाणी बाट चुलिएको थियो। तत्कालिन सेनाप्रमुख सच्चित शम्सेरबले सेनाको, भरतकेशर सिंहले हिन्दू धर्मको तथा भरत जंघम र भक्त कोइराला हरूले कर्मचारीतन्त्रको आडमा ज्ञानेन्द्रको महत्त्वाकांक्षा बढाउने काम गरेका थिए। निक्ष सम्सेरहरूले युवा तागतको भर देखाएका थिए। ती सबै माओवादीलाई दमन गरेर तथा अन्य दललाई नसुनेर तह लगाउने सल्लाह दिने गर्थे।
दलहरूलाई जनताको समर्थन छैन भन्ने राजाको अनुमान त्यतिबेला मिथ्या सावित भयो जतिबेला हतियार विसाएर माओवादी पनि शान्तिपुर्ण आन्दोलनमा आयो। ज्यानको बाजी राख्दै जनताको सागर सडकमा ओर्ल्यो र निरंकुश राजशाहीले घुँडा टेक्नुपर्योभ।
२०६३ बैशाख ११ मा घुँडा टेकेको राजतन्त्रलाई संवैधानिक रूपले हटाउन २ बर्ष सम्म धैर्यता पूर्वक पर्खने नेपाली जनताको बौद्धिक स्तरको ज्ञानेन्द्रले कदर गर्न लायकको छ। हजारौं जनताको विस्थापन र हत्या सम्मका लागि जिम्मेवार रहेका ज्ञानेन्द्रलाई न्यायको कठघरामा उभ्याउनु पर्ने हो। तर सबै अपराधलाई माफी दिँदै सम्मानित नागरिकको स्थान दिने नेपालीको महानता बुझ्ने सम्मको प्रयत्न उनले गरेका छैनन्।
सम्पत्ति कुम्ल्याउने शोख
पञ्चायती व्यवस्था रहुन्जेल जन्मैले अधिराजकुमार तथा सेनाको अतिरथि भएका कारण राज्यबाट पाएको संरक्षण र छूटका कारण उनले अपनाएको ‘व्यापार पेसा’ निकै फष्टाएको थियो। देशभित्र ज्ञानेन्द्रको लगानी भएका दर्जनौं कम्पनीहरू अद्यावधि चलिरहेकै छन् विदेशमा पनि उनको लगानी धेरै क्षेत्रमा रहेको बताइन्छ।
तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र आफू प्रकृति प्रेमी देखिन र त्यसभित्र आफ्नो ‘व्यवसाय’ चलाउनका लागि २०३८ देखि महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष बनेका थिए। त्यो पद २०५८ मा राजा बनेपछि उनले छोरा पारसलाई सुम्पे। त्यसैगरी २०४२ देखि ०४७ सम्म लुम्बिनी विकास कोषको अध्यक्ष पनि उनै थिए।
राजतन्त्र सर्वेसर्वा भएको बखत पनि ‘प्रकृति संरक्षण’ को बहानामा वन्यजन्तुको तस्करीमा संलग्न रहने गरेको आरोप अधिराजकुमार ज्ञानेन्द्रमाथि लाग्दै आएको थियो। देशका विभिन्न मन्दिरहरूबाट बहुमुल्य मूर्तिको चोरी निकासीमा पनि हात रहेको आरोप उनीमाथि थियो। विभिन्न तस्करी र अपराधमा नाम कहलिएका राजाका २ भाईमध्ये धिरेन्द्रले २०४४ सालमा श्री ५ को पद्‌वी नै छाड्नुपरेको थियो। राज्यसत्ताको संरक्षणका कारण उनीहरूमाथि कसैले पनि उजुरी गर्ने आँट गरेन।
तत्कालिन राजा बीरेन्द्र र रानी ऐश्वर्यको नाममा पनि विदेशमा अथाह सम्पत्ति रहेको विश्वास गरिएको छ। स्वीस ब्याङ्क लगायतका व्याङ्कमा रहेका त्यस्ता सम्पत्ति हत्याउन तथा देशभित्रै रहेका राजपरिवारका सम्पत्तिमाथि कब्जा जमाउन ज्ञानेन्द्रले ठूलै खेल खेलेका थिए। वीरेन्द्र र उनका परिवारको नाममा रहेका देशको विभिन्न ठाउँमा रहेका ऐतिहासिक दरवार, बंगला र पार्कहरू ज्ञानेन्द्रले आफ्नो नाममा पास नै गरिसकेका थिए। उनी राजा भएको ५ बर्षपछि बीरेन्द्रको सम्पत्तिलाई राष्ट्रियकरण गर्ने अन्तरिम सरकारको निर्णय पछि हिसाब खोज्दा मात्र त्यसको पोल खुलेको थियो।
१९ माघको कदमपछि संसदको ‘चुनाव’ गराएर त्यही संसदबाट पारीत गराई विदेशमा रहेको सम्पत्तिको उत्तराधिकार लिने दाउमा ज्ञानेन्द्र रहेको दरवार निकट स्रोत बताउँछ।
सत्ताच्यूत पछि के गर्ने?
राजाका आसेपासेहरूले राजतन्त्रको अन्त्यले ठूलो दुर्घटना निम्त्याउने भविष्यबाणी गरेका छन्। राजाकै आडमा आफ्नो भविष्य देख्नेहरूका व्यक्तिगत जीवनमा गणतन्त्रको स्थापनाले त्यो दुर्घटना भै नै सकेको छ। सेना सँग सम्बन्ध विच्छेद भैसकेको अवस्था र जनताको ताजा जनादेशका कारण तत्काल राज्य सत्ताप्रति लालच देखाउन सक्ने हैसियत स्वयं ज्ञानेन्द्रमा पनि देखिँदैन। पञ्चायतकाल देखिनै राजाको छत्रछायाँमा भविष्य देख्नेहरूबाट जताततै हत्या हिंसा फैलाएर जनतालाई त्रस्त पार्ने र अस्थिरता ल्याउने प्रयास हुनसक्छ। राज्य र जनता दुवै मिलेमा त्यस्ता प्रयास सफल हुने छैनन्।
पूर्व राजा र उनको शाही परिवारलाई पाल्नका लागि राज्यसँग उनले निश्चित ‘पेन्सन’ माग्न सक्छन्। राजसी टाँठबाठका लागि नपुगे पनि उनीहरूको दैनन्दिन सञ्चालनका लागि पर्याप्त हुने तलब राज्यले दिन सक्नेछ। यदि त्यो सुविधा पाएमा त्यसैमा चित्त बुझाएर बस्नुमा उनीहरूको कल्याण हुनेछ। अन्यथा उनीहरूले आ-आफ्नो ‘योग्यता’ अनुसारको जागिर पनि खोज्न सक्नेछन्।
नेपाली जनताले अब ज्ञानेन्द्रको सम्पत्ति प्रति खासै आपत्ति जनाउने मनसाय राखेको देखिँदैन। त्यसैले उनले एउटा समृद्ध व्यापारीको हैसियत राख्न  सक्नेछन्। उनले आफ्ना दर्जनौं उद्योग व्यवसाय सञ्चालन गर्न र विद्यूत, ब्याङ्क लगायतका क्षेत्रमा थप लगानी गर्न सक्नेछन्।
पछिल्ला दिनहरूमा विदेश पलायन हुने हल्ला चलाइएपनि देश नछोड्नुले उनको देशमै स्थापित हुने विचारको संकेत गर्दछ। यदि जनताले अझै आफूलाई समर्थन गर्छन् भन्ने विश्वास छ भनें खुला राजनीतिमा प्रवेश गरेर नेपालीको मन जित्ने अवसर पनि उनीलाई प्राप्त हुनेछ। ज्ञानेन्द्रलाई भविष्यमा गणतान्त्रिक नेपालको निर्वाचित राष्ट्रपति बनाउने कि नबनाउने भन्ने कुरा पनि अब नेपाली जनताले नै फैसला गर्नेछन्।